images
images
images

पूर्वसभामुख कृष्णबहादुर महरामाथि आज थुनछेक बहस

काठमाडौं  -काठमाडौं जिल्ला अदालतमा आज पूर्वसभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस सुनुवाइ हुँदैछ। बहसपछि अदालतले महरालाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने निर्णय सुनाउनेछ।

सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई असोज २७ गते अदालतमा मुद्दा दायर गरिसकेको छ।

अभियोजन पक्षले महरामाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको आर्थिक क्षति पुर्‍याएको आरोप लगाउँदै तीन वर्षभन्दा बढी कैद सजाय माग गरेको छ।

उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट छुटाउन दबाब दिएको आरोप छ।

मामिला २०७९ पुस १० गते फ्लाई दुबईको उडान (एफजेट ०५८७) मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङसँग जोडिएको हो। उनका दुईवटा सुटकेशमा भेप देखिएपछि भन्सार कार्यालयले ती सामानहरू नियन्त्रणमा लिएको थियो। हानसोङ भने भोलिपल्टै पासपोर्ट फिर्ता लिएर नेपालबाट प्रस्थान गरेका थिए।

लामो समयसम्म भन्सारमा थन्किएको उक्त भेपमा सुन लुकाइएको सूचना पाएपछि केही कर्मचारीले भेप साटेको आशंका गरिएको थियो। यसपछि २०८० वैशाख २६ मा भन्सार कार्यालयले सीआईबीलाई औपचारिक पत्र लेख्दै अनुसन्धान गर्न अनुरोध गरेको थियो।

लगभग दुई महिना लामो अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सार नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गर्‍यो।

पछि गरिएको पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, कृष्णबहादुर महराका छोरा राहुल महरा र नीमा गुरुङलाई मतियारका रूपमा मुद्दा चलाइएको छ।

पूर्वसभामुख महरा पनि सो प्रकरणमा संलग्न रहेको शंका गरिएको छ। केही दिन अघि उनीसँग सोधपुछ गरिएको थियो भने अहिले सोही आधारमा अनुसन्धान अगाडि बढाइएको हो।