images
images
images

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलको शपथग्रहण आज

काठमाडौं – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनियताको शपथग्रहण गर्दैछन्।

विहान साढे ११ बजे प्रदेश प्रमुखकको कार्यालयमा सोनलको शपथग्रहण समारोह हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।  जसपा नेपाल, जनमत, माओवादी, लोसपा र एकीकृत समाजवादीको समर्थनमा लोसपाका सोनल मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेशसभामा सहभागी दलहरूको अवरोध र तनावबीच मधेश प्रदेशको मुख्यमन्त्रीमा बुधबार सोनल नियुक्त भएका हुन्।

कांग्रेस र एमालेले प्रदेश प्रमुखविरुद्ध नाराबाजी गरेपछि सुरक्षाकर्मी तैनाथ गरेर लोसपाका प्रदेश सांसद सोनललाई बुधबार अबेर मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान  गरेकी थिइन् ।

पाँच दलको प्रस्तावमा सोनलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। उनलाई जसपा नेपाल (१९), जनमत (१३), माओवादी (९), लोसपा (८) र एकीकृत समाजवादी (७) सांसदले समर्थन गरेका छन्।

सोनलको नियुक्तिमा एमाले र कांग्रेसले आपत्ति जनाएका छन् । एमाले संसदीय दल नेता सरोज यादव र कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादवसहितका सांसदहरूले प्रदेश प्रमुखलाई भेटेर जनमत पार्टी विभाजन भइसकेकाले सोनलको दाबीलाई मान्यता नदिन अनुरोध गरेका थिए।

कांग्रेस संसदीय दलका नेता यादवका अनुसार सोनललाई जनमतका १३ सहित ५६ सांसदको समर्थनमा नियुक्त गरिएको छ। तर जनमत पार्टीका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका छन्। सोनलका पक्षमा गरिएको बहुमतको दाबीलाई मान्यता दिन नहुने कांग्रेस र एमालेको तर्क छ।

यही विषयलाई लिएर कांग्रेस र एमालेका नेताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि नाराबाजी गरेका थिए।

यसैबीच भागबण्डा मिलाएर आजै मन्त्रिपरिषद विस्तार गर्ने योजनामा मुख्यमन्त्री सोनल देखिएका छन्।  सरकारमा कुन दलका कुन–कुन मन्त्रालय दिने सहमति भइसकेको जनाएको छ।  जसअनुसार जसपालाई अर्थसहित ४ मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसहित ४ मन्त्रालय, लोसपा, माओवादी केन्द्र र नेकपा एसलाई २–२ मन्त्रालय दिइने सहमति भएको लोसपाका एक सांसदले बताए।