काठमाडौं – जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको आक्रमणप्रति मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले गम्भीर आपत्ति जनाएका छन्।
मुख्यमन्त्री सोनल शुक्रबार अस्पताल पुगेर घाइते भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर शीघ्र स्वास्थ्य लाभको कामना गरे। उनले घटनामा संलग्न सुरक्षाकर्मीमाथि आवश्यक छानबिन गरी कारबाही हुने विश्वास दिलाए।
प्रहरीको लाठीचार्ज र अश्रुग्यास प्रहारबाट घाइते भएका भण्डारीको अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि मुख्यमन्त्री सोनलले नेपाल प्रहरीका डीआइजीलाई तत्काल फोन सम्पर्क गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले व्यापारी र व्यवसायीमाथि हुने दमनात्मक गतिविधिले समाजमा त्रास सिर्जना गर्ने भन्दै यस्ता कार्य रोक्न आग्रह गरे।










