काठमाडौं -लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का वरिष्ठ उपाध्यक्ष तथा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनललाई लोसपाको केन्द्रीय कार्यालय, बबरमहलमा विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष महन्थ ठाकुरले मुख्यमन्त्री सोनलको मधेश आन्दोलनमा पुर्याएको योगदानप्रति उच्च सम्मान व्यक्त गरे। उनले भने, “सोनलजीले मधेशको हक अधिकारका लागि विगतदेखि अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभयो, अहिले पनि जनताको भरोसामा सरकार सञ्चालन गर्दै जनसेवामा समर्पित हुनुहुन्छ।”
अध्यक्ष ठाकुरले लोकतान्त्रिक मूल्य र संघीयता सुदृढ बनाउन लोसपाको योगदान महत्त्वपूर्ण रहेको भन्दै पार्टीभित्रको एकता र सहकार्यलाई अझ सबल बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा लोसपाका नेताहरू, संघीय लोकतान्त्रिक मोर्चाका प्रतिनिधिहरू, विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका क्रममा मधेश आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई प्रेरणाको स्रोतका रूपमा सम्मान गरिएको थियो।
मुख्यमन्त्री सोनलले प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै जनताको विश्वास र पार्टीको भरोसा जोगाउन पूर्ण समर्पणका साथ अघि बढ्ने प्रतिबद्धता जनाए। उनले मधेशको अधिकार, विकास र सामाजिक न्यायमा आधारित सुशासन स्थापनामा आफू निरन्तर सक्रिय रहने बताए।
कार्यक्रमका अन्य वक्ताहरूले पनि सोनलको योगदान र मधेश आन्दोलनको ऐतिहासिक महत्वबारे विचार व्यक्त गर्दै पार्टी र प्रदेशको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे।










