images
images
images

ओलीसँग राष्ट्रपति पौडेल असन्तुष्ट

काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेल नेकपा (एमाले) सँग असन्तुष्ट देखिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति र व्यहारप्रति राष्ट्रपतिले असन्तोष प्रकट गरेका हुन् ।

शनिबार राष्ट्रपतिले प्रधानमन्त्री र सुरक्षा अङ्गका प्रमुखहरूसँग छलफल गरे । त्यसअघि शनिबार बिहान राष्ट्रपति पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरेका थिए।

त्यस क्रममा राष्ट्रपतिले ‘संविधानलाई ट्र्याकमा ल्याउन चुनावको विकल्प नरहेको’मा जोड दिएको छलफलमा सहभागी सुरक्षाविज्ञ गेजा शर्मा वाग्लेले बताए।

बैठकमा राष्ट्रपतिले खास गरी एमाले अध्यक्ष ओली चुनावमा नजाने भनी शुक्रबार दिएको अभिव्यक्तिप्रति चासो व्यक्त गरेका शर्माले बताए । त्यसमा राष्ट्रपतिले असन्तुष्टि व्यक्त गरेको उनको भनाई थियो ।

ओलीले ‘हामी आन्दोलनमा जान्छौँ, नहुने चुनावमा कसरी भाग लिने ?’ भनी अभिव्यक्ति दिएका थिए।

ओलीको भनाईप्रति असन्तोष व्यक्त गर्दै राष्ट्रपतिले भनेका थिए, ‘मसँग कुरा हुँदा एमालेका नेताहरू हामी चुनावमा जान्छौँ भन्नुहुन्छ । तर हिजो अर्कै कुरा आयो ।’

एमाले कन्द्रीय कमिटीको बैठक समापन गर्दै ओलीले वर्तमान सरकार असंवैधानिक भएको र फागुनमा चुनाव पनि नहुने जिकीर गरेका थिए ।

उनको भनाई थियो ‘फागुन २१ गते चुनाव हुनेवाला छैन । संविधान र कानुन कतै नचिनेको यो सरकार हो। यो असंवैधानिक सरकार हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले फागुन २१ गते निर्वाचन गराउने कार्यादेश सहित सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरेका थिए भने प्रधानमन्त्री कार्कीको सिफारिसमा संसद विघटन गरेका थिए ।

आन्दोलनको दबाबपछि राजीनामा दिएका ओलीले नै कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरेको खुलेको थियो ।