काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा देशको समसामयिक राजनीतिक परिस्थिति, मधेश प्रदेश सरकारको सञ्चालन र आगामी योजनासम्बन्धी विषयमा गहन छलफल भएको बताइएको छ। नयाँ सत्ता समीकरणपछि मधेश प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका सोनललाई अध्यक्ष प्रचण्डले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए।
लोसपा नेता सोनलको नेतृत्वमा बनेको वर्तमान मधेश प्रदेश सरकारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ। भेटका क्रममा अध्यक्ष प्रचण्डले मधेशको विकास र स्थायित्वका लागि केन्द्र सरकार र प्रदेश सरकारबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै माओवादी केन्द्रको पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए।
मुख्यमन्त्री सोनलले अध्यक्ष प्रचण्डको बधाईका लागि आभार व्यक्त गर्दै प्रदेश सरकारलाई स्थायित्व प्रदान गर्न र मधेशका जनताको आकांक्षा पूरा गर्न माओवादी केन्द्रसहित गठबन्धनका दलहरूको समर्थन महत्वपूर्ण हुने बताए।










