images
images
images

एक्सनमा कुलमानः डेडिकेटेड ट्रङ्क लाइनको महशुल नबुझाउने ६ उद्योगको लाइन काटियो

काठमाडौं -नेपाल  विद्युत प्राधिकरणले डेडिकेटेड ट्रङ्क लाइनको महशुल नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले आज (मंगलबार) रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज, शिवम् सिमेन्ट, जगदम्बा स्टिल, घोराही सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो ।

प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, जगदम्बाले १ अर्ब ६० करोड, शिवमले ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ प्रिमियम तिर्न बाँकी रहेको छ ।

उक्त वक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेवापतको महशुल हो । ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त हुनेबित्तिकै उनले पहिला निर्णय डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता उठाउने गरेका थिए । कुलमानले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गरेका थिए ।

कुलमानको एक्सनसँगै केही उद्योगहरुले किस्तामा प्रिमियम बुझाउन पनि थालेका छन् । डेडिकेटेड तथा ट्रङ्क लाइनवापत प्राधिकरणले २२ अर्बभन्दा बढी वक्यौता उठाउन बाँकी रहेको छ ।