images
images
images

गृहमन्त्री अर्यालको म माथि दुश्मनी चर्को देखिन्छ, यो सरकारमाथि गम्भीर आशंका छ : केपी ओली

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमन सरकारले आफूविरुद्ध व्यक्तिगत दुश्मनी पालेको आरोप लगाएका छन् । उनले गृहमन्त्री ओमप्रकाश अर्यालको पछिल्लो सार्वजनिक अन्तर्वार्ताबाट नै आफमाथि दुश्मनी पालेको देखिएको आरोप लगाए ।

जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते जलाईएको भक्तपुरको बालकोटमा रहेको आफ्नो घरबाट पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘गृहमन्त्रीको अन्तर्वार्ता हेरें, यो सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिन्छ । उहाँको दुश्मनी ममाथि देखिन्छ । व्यक्तिगत दुश्मनी देखिन्छ । मैले त उहाँको सिमानापनि मिचिदिएको छैन ।दुश्मनी अत्यन्त चर्को देखिन्छ । मलाई यो सरकारमिाथ गम्भीर आशंका छ । थप योजना बनाईराखेको आशंका छ । जेनजी भनिएकाहरुलाई बोलाएर, तिमीहरु हामीलाई दबाब देउ, केपी ओलीलई कारबाही गर्छौ, फलानोलाई गिरफ्तार गर भनेर भन्नुहुन्छ । आगामी दिनमा हेर्दै जाउँ, यो देशमा एमाले छ । यो जिउँदो पार्टी हो । यसले देशलाई शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छोड्छ । अचानक पलाएका सरकारको तमाशासँग, किन्चित विचलित हुँदैन ।’

उनले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरुले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे । उनले भने,‘छानी छानीकन व्यक्तिहरुको घर जलाईएको छ, लुटिएको छ । यतिसम्म की कसरी उठाएर लगे भन्ने कुरा आश्चर्य लाग्छ । केही टनका ढुंगाको मुर्तीहरु, जो आँगनमा राखिएको थियो, शिव, बुद्ध र सररस्वतीको मुर्ती थियो, सरस्वतीभन्दा ठूला ठूला अरु मुर्ती चोरिएको छ । त्यस्तो सामानसमेत चोरिएको छ । अरु साना मसिना सामान चारिनु सामान्य । काम नलाग्ने कुरा आगो लगाएका छन् । त्यो हो पुस्तकहरु । ढुंगाका मुर्तीहरु थिए, ती पनि छैनन् ।कतिपय प्लस्टर गरेरका सामानहरु थिए, अरु मेटलका थिए ती पनि पग्लिएर बसेको छैन । सबै चिजहरु उठाईएको छ । उनीहरुलाई काम नलाग्ने मात्रै छोडिएको छ। थुप्रै उपहार थिए, त्यस्ता चिजहरु लगिएका छन् । यो त बहुतै टार्गेट गरिएको छ ।’

यसरी सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजानी गर्नेहरु आपराधिक समूह नै भएको ओलीको दाबी छ । उनले भने,‘खासगरी आपराधिक समूह । यो प्रयास धेरै अगाडि थियो । देशैभरि जलाईएको छ । एमालेका कार्यालयहरु जलाईएका छन् । हाम्रा नेताहरुको घर छानि छानि जलाईएको छ । यसको तयारी पहिलेदेखि नै थियो । यो भदौ २३ गते आदि इत्यादिको कुरा थिएन । सरकारका सम्पत्ति लुटपाट गरे । नेपालको विरुद्ध भयानक षड्यन्त्र थियो । नेपालका उद्योग, कलकाराखना जलाईए । शिक्षाका मन्दिरहरु जलाईए । विद्यार्थीलाई पनि झुक्याईयो । नरसंहार गरियो, योजनाबद्ध ढंगले गरे । यो योजनावद्ध, लुटमार गर्नेहरु कुनै विदेशबाट आएका थ्एिनन् । कोही आसपासका थिए, कोही परका थिए ।’

उनले आगजानी, लुटपाटमा संलग्नहरुलाई सरकारले कारबाही नगरेकोमा पनि आक्रोश पोखे । उनले भने,‘कतिपय मान्छे चिनिएका छन् । अहिलेसम्म सरकारले अपराधीलाई कारबाही गर्न मानेको छैन । तत्काल रिहा गर्न गृहमन्त्रीले आदेश दिएका छन् ।’ उनले आगजानी, तोडफोड भएको विषयमा पार्टीका नेता तथा कार्यकर्ताहरुले मुद्दा हाल्ने बताए । उनले भने,‘देशभरिका कार्यकर्ताहरुले मुद्दा नदिएर कसरी हुन्छ ? क्षति भएको छ । जसले क्षति गरेको छ, उसलाई दण्डित गरिनुपर्छ ।