images
images
images

संसद भवन निर्माण ढिलाइ भए जरिवाना तिराउने मन्त्री घिसिङको चेतावनी

काठमाडौँ – सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गर्दै तोकिएको समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

शनिबार उनले निर्माण स्थलको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि नयाँ संसद् भवनबाटै कार्य सञ्चालन गर्न सक्ने गरी निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएको बताएका हुन् ।

मन्त्री घिसिङले पुरानो संसद् भवन ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएकाले नयाँ भवन छिटो सम्पन्न गर्न आवश्यक रहेको बताए। ‘यदि निर्धारित समयमा भवन तयार नभए संसद सञ्चालनमा गम्भीर असर पर्न सक्छ,’ उनले भने।

निर्माण कम्पनीले आउँदो पुस १६ गतेसम्म सबै काम पूरा गर्ने प्रतिबद्धता जनाएको भए पनि मन्त्री घिसिङले त्यस्तो अवस्था कठिन रहेको बताए । उनले हरेक दिनको कार्यतालिका तयार गरी दुई चरणमा काम अघि बढाउन निर्देशन दिए । साथै, दुई दिनभित्र विस्तृत ‘सेड्युल’ पेश गर्न र त्यसैअनुसार काम गर्न आदेश दिए।

‘आवश्यक साधन स्रोत र जनशक्ति परिचालन गरेर तीव्र गतिमा काम गर्नुपर्छ,’ मन्त्री घिसिङले भने, ‘समयमै काम सम्पन्न नभए कारबाही स्वरूप जरिवाना तिराउनुपर्नेछ।’

अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ भने समयै निर्वाचन गराउने गरी काम गरिरहेको जनाएको छ ।