आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ ।
छठ पर्वको अन्तिम दिन मंगलबार बिहान ब्रतालुहरूले पानीमा उभेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।
शनिबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय खाए’ गरिएको थियो । छठको दोस्रो दिन आइतबार दिनभर उपवास बसी राति खीर बनाइ देउतालाई चढाएर ब्रतालुहरू खरना गरेका थिए ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।
हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्। काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।
यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो ।
वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको छ । झापाको मेची नदी, विरीङ, मावा, रतुवालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका थिए ।
यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो ।
सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराजसहितका स्थानमा पनि उत्तिकै उल्लासले पर्व मनाइएको छ ।
दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन्। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।










