images
images
images

जेनजी आन्दोलनमा भागेका वैदेशिक रोजगार ठगीका ३३ अभियुक्त अझै फरार

काठमाडौँ- वैदेशिक रोजगार ठगी कसुरमा फरार रहेका ३३ अभियुक्त अझै सम्पर्कमा आएका छैनन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा फरार ३४ अभियुक्तमध्ये ३३ जना अझै सम्पर्कमा नआएका हुन् ।

वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको थियो । तर, २४ भदौमा वृत्तमा आगजनी तथा तोडफोड भएपछि वृत्तको थुनामा रहेका अभियुक्तहरू भागेका थिए । जसमा ३४ जना वैदेशिक रोजगार सम्बन्धी ठगीका अभियुक्त पनि थिए ।

तीमध्ये एक जना आफैँ सम्पर्कमा आएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

फरारमध्ये एक जना मात्रै सम्पर्कमा आएको र अन्य अझै फरार रहेको उनको भनाइ छ । फरार अभियुक्तहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गर्दै आएको छ ।

जेनजी आन्दोलन क्रममा आगजनी हुँदा विभागसमेत पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगजनीका कारण विभागभित्रका सम्पूर्ण कागजात समेत जलेर नष्ट भएका थिए ।

यतिबेला वैदेशिक रोजगार कार्यालयबाट अस्थायी रूपमा सेवा प्रवाह हुँदै आएको छ । प्रवक्ता शिवाकोटीले ठगीको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दै आएको छ ।