काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा राजनीतिक दलका नेताहरू र जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच आगामी निर्वाचन र सुशासनका विषयमा विस्तृत छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन कसरी सम्पन्न गर्ने र जेनजीले उठाएका मागहरू कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।
बैठकमा जेनजी प्रतिनिधिहरूले चुनावसँगै सुशासन र भ्रष्टाचारविरुद्धको कदमलाई समान रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार जेनजी प्रतिनिधिहरूले भनेका थिए, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर केवल चुनाव गरेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मूल माग सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही हो, यी एजेन्डामा सरकार सँगसँगै अघि बढ्नुपर्छ।’
छलफलमा जेनजीका तर्फबाट रक्षा बम, जेम्स कार्की, दिवाकर दंगाल, पुरुषोत्तम यादव, मिराज ढुङ्गाना, अमित खनाल, रिजन रानामगर, सामना घर्ती, मोनिका, उपार्जुन चाम्लिङ, खेम साउँद, भोजविक्रम थापा, अभिषेक श्रेष्ठ, विवेक ढकाल र सागर ढकाल सहभागी थिए ।
प्रधानमन्त्री कार्कीले सबै पक्षबीचको संवादलाई निरन्तरता दिनुपर्ने बताउँदै सरकार जेनजीका एजेन्डा र निर्वाचन तयारीमा दुवै मोर्चामा गम्भीर रहेको उल्लेख गरेकी थिइन्।









