काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आयोजित त्रिपक्षीय संवादको समापनमा भावुक तथा दृढ अभिव्यक्ति दिएकी छिन्।
सरकार, राजनीतिक दल र ‘जेनजी’ युवा प्रतिनिधिहरू सम्मिलित संवादमा उनले आफू रहरले प्रधानमन्त्री नबनेको स्पष्ट पार्दै परिवर्तनका लागि बलिदानी दिने युवाहरूको आवाज सम्बोधन गर्न र भ्रष्टाचार निर्मूल पार्न कठोरताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले सुरुमा राजनीतिक नेतासँग डिल गर्न नसक्ने भन्दै जिम्मेवारीबाट पछि हटेको तर, राष्ट्रपतिज्यूको आग्रह र जेनजी युवाहरूको ‘अभिभावकत्व लिइदिन’ भन्ने रुन्चे आग्रहले गर्दा आएको बताइन्। “मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ। ती घाइतेहरूको अनुहार हेरेँ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले सहिद परिवार र घाइतेलाई अलपत्र नपार्ने र बोलेको पुर्याउने प्रतिबद्धता जनाइन्।
सरकार हरेक दिन छलफल र गृहकार्य गर्दै निर्वाचनमा केन्द्रित रहेको र समस्याहरू फुकाउन लागिपरेको उनको भनाइ छ।
उनले प्रहरीको मनोबल बढ्नेमा जोड दिँदै ३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरूले अहिले मनोबलको कुरा गरेको देख्दा अचम्म लागेको बताइन्।
“भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर, हामी सपार्ने दिशामा छौँ, मनोबल उठ्छ,” उनले भनिन्।
उनले विदेशी हस्तक्षेपको कुरालाई ‘तर्साउने हतियार मात्र’ र ‘गलत भाष्य’ भन्दै खारेज गरिन्। राजदूतहरूसँग शिष्टाचार भेट मात्र भएको र बालुवाटारमा भेट नगरिएको उनले स्पष्ट पारिन्।
सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले न्यायाधीशलाई नरोकेको भन्दै उनले न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न नपाउने भनेर संविधानमा नलेखिएको तर्क गरिन्।
उनले ‘कुरैकुरामा मात्र बाँचेको नेपाली समाज’ मा काम गर्न नदिने र बातैपिच्छे काम गरेन भन्ने अनौठो चलन रहेकोमा असन्तुष्टि व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले आफू पहिलादेखि नै ‘लडाकु’ भएको बताउँदै भ्रष्टाचार नियन्त्रणमा कठोर हुने चेतावनी दिइन्। “यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु,” उनले भनिन्।
उनले मन्त्री अनिलकुमार सिन्हाको इमान्दारिताको प्रशंसा गर्दै थन्क्याइएका फाइलहरू खुलाएर भ्रष्टाचार गर्नेहरूलाई समात्ने क्रम जारी रहेको जानकारी दिइन्।










