images
images
images

झलनाथ खनालले मागे माधव नेपालको राजीनामा

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् ।

बुधबारदेखि जारी नेकपा एसको केन्द्री कमिटी बैठकमा बोल्दै खनालले पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको विषयलाई उठाउँदै अध्यक्ष नेपालको राजीनामा माग गरेका हुन् ।

बैठकको दोस्रो दिन बैठकमा खनालले भने , ‘ अध्यक्ष नेपालमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ । त्यो अख्तियार र अदालत हाम्रै पहलमा बनेका हुन्, त्यसैले उहाँले नैतिक जिम्मेवारी स्वरूप अध्यक्ष पद छोड्नुपर्छ।’

उनले भने, ‘एमाले फुटाएपछि यो पार्टी बनाउन नसक्ने, बैठक गर्न पनि हजार दुई हजार उठाएर दरिद्रता देखाउने, जनताको बीचमा नजाने अनि, प्रचण्डको काखमा जाने ? जिम्मा लिनुहुन्छ हिजोको जनयुद्धको ? केके जिम्मा लिएर माओवादीसँग एकता गर्नुहुन्छ ? भोलि केका लागि जाने ?’

अहिले एकताभन्दा पनि पार्टीलाई बलियो र क्रान्तिकारी बनाउन केन्द्रित हुनुपर्ने झलनाथले बताए । एमाले पनि अहिले सैद्धान्तिक र वैचारिक अन्योलतामा रहेको जिकिर गरे । उनले थपे, ‘हामी सही ढङ्गले अघि बढ्यौँ भने सानो पार्टी ठूलो हुनसक्छ । यो एकताको बेला होइन । पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने बेला हो ।’

त्यस्तै, सम्मानित नेता खनाल नेकपा (माओवादी केन्द्र)सँगको एकताको विपक्षमा उभिएका छन् । खनालले माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने दोहोर्‍याए ।

‘अहिले हाम्रो पार्टी माओवादीमा एकता गर्ने हो भने एमालेसँग विद्रोह गरेको जायज थियो भन्ने पुष्टि हुँदैन,’ खनालले बैठकमा भने । उनले जनयुद्ध कालमा मृत्यु भएकाहरूको जिम्मा लिन नसकिने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।