images
images
images

रौतहटमा काठमाडौं जाँदै गरेको डल्फिन रात्री बस दुर्घटना मुख्यमन्त्रीको निर्देशन, घाइतेको उपचारमा कुनै कमी नहोस्

काठमाडौं/जनकपुर – जनकपुर बाट काठमाण्डौतर्फ जादै गरेको यात्रुबाहक बस चितवनमा गएराती करिब पौने २ बजे भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुई यात्रुबाहक बस र एक ट्रक आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् ।

घटनामा गौरबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस र जनकपुरबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस, ईट्टा लोड गरेर पार्कीङ गरी राखिएको ना ६ ख ८१३ नम्बरको ट्रकसँग ठोक्किएका थिए ।

रौतहटको गाैर दुर्गा भगवती गाउँपालिका–पिपराबाट काठमाडौं जाँदै गरेको डल्फिन रात्री बस दुर्घटनामा परेपछि मधेस प्रदेश सरकारले तत्काल सक्रियता देखाएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार व्यवस्थित रूपमा भइरहेको छ भने प्रदेश सरकार घाइतेहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी नहोस् भनेर चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश आर्यालसँग सीधा समन्वयमा रहेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले घाइतेहरूको उपचारमा आवश्यक सबै प्रकारको सहयोग तत्काल उपलब्ध गराउन निर्देशन दिइसकेका छन्। उनले भने, “घाइते यात्रुहरूको उपचारमा कुनै कमी हुन दिनु हुँदैन। प्रदेश सरकार पूर्ण रूपमा तयार छ र आवश्यक सहयोग तुरुन्त उपलब्ध गराइनेछ।”

प्राप्त विवरणअनुसार, दुर्घटनामा घाइते ३३ मध्ये १५ जना चितवन मेडिकल कलेजमा, १३ जना नेसनल सिटी अस्पतालमा र ५ जना भरतपुर अस्पतालमा उपचाररत छन्। घाइतेहरूको स्वास्थ्य अवस्था लगातार निगरानीमा राखिँदैछ र चिकित्सक टोलीले आवश्यक सहयोग पुर्याइरहेको छ।

दुर्घटनाको खबरले सम्पूर्ण समुदायलाई दुःखी बनाएको छ। मुख्यमन्त्री सोनलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, प्रदेश सरकारको तर्फबाट प्रत्येक परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यात्रुहरू सुरक्षित रूपमा पुनः गन्तव्यमा पुग्ने व्यवस्था मिलाउने र भविश्यमा यस्ता दुर्घटनाबाट जोगिनको लागि यातायात सुरक्षामा कडा निगरानी गर्न प्रदेश सरकारले योजना बनाएको छ।