images
images
images

सरकारले जारी गरेको भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड आजदेखि कार्यान्वयनमा

काठमाडौं – सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। यसअघि लागू भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा आधारित नयाँ मापदण्ड आजदेखि कार्यान्वयनमा आएको हो।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत नयाँ व्यवस्थाबारे दिएकाृ जानकारी अनुसार १० माघ २०८० देखि लागू भएको ६ बुँदे मापदण्डसहित यसअघि विभिन्न समयमा जारी भएका सबै भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गर्दै १३ कात्तिकमा मन्त्रिस्तरीय निर्णयमार्फत नयाँ मापदण्ड लागू गरिएको हो।

विभागले सबै नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्रासम्बन्धी विवरणमा पूर्ण रूपमा सचेत भई निर्धक्क रूपमा यात्रा गर्न अनुरोध गरेको छ। साथै, नयाँ मापदण्डबारे स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत सबै नागरिकसम्म जानकारी पुर्‍याउन आग्रह गरिएको छ।

विभागका अनुसार, अघिल्ला मापदण्डहरू कडा र झन्झटिलो भएका कारण कागजपत्र तयार गर्ने प्रक्रियामा समस्या देखिएको थियो। त्यही कारण बिचौलियाहरूले कागजात मिलाउने नाममा बढी रकम असुल्ने प्रवृत्ति बढेकाले नयाँ मापदण्ड ल्याइएको हो।

नयाँ मापदण्डअनुसार भिजिट भिसामा विदेश जाने नेपाली नागरिकले कम्तीमा ६ महिनाको अवधि बाँकी भएको राहदानी, गन्तव्य मुलुकको भिसा, गन्तव्यसम्मको हवाई टिकट, भ्रमणको प्रयोजनका लागि आवश्यक कागजात, र भ्रमणबाट सिर्जित परिणामका लागि स्वयं जिम्मेवार हुने स्वघोषणा पत्र राख्नुपर्नेछ ।

यसअघि जारी ६ बुँदे मापदण्डमा भने दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, र आफन्तकोमा बस्नेका लागि तीन पुस्ते विवरण पेश गर्नुपर्ने व्यवस्था थियो।