काठमाडौं – बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा स्थानीयले फोहोर बोक्ने गाडी रोक्न थालेपछि सहरी विकास मन्त्रालयले उनीहरूलाई वार्ताका लागि बोलाएको छ।
२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले दुई दिनदेखि काठमाडौं उपत्यकाबाट फोहोर बोक्ने गाडीहरू रोकेका छन्। यसअघि काठमाडौं महानगरपालिकाले पनि घरबाट फोहोर ननिकाल्न अनुरोध गर्दै सूचना जारी गरेको थियो।
स्थानीयहरूको विरोधपछि मन्त्रालयले वार्ताका लागि बोलाएको जानकारी नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले दिएका छन्। उनले भने, “हामीलाई छलफलका लागि बोलाइएको छ, हामी जाँदैछौं। सहमति हुन्छ वा हुँदैन, त्यो छलफलपछि थाहा हुनेछ।”
वार्तामा प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि र स्थानीय अगुवाहरू सहभागी हुने तामाङले बताए ।










