images
images
images

विप्लव नेतृत्वको नेकपा औपचारिक रूपमा विभाजित

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजन भएको छ । पार्टीभित्र लामो समयदेखि चल्दै आएको असन्तुष्टि अन्ततः टुटफुटमा परिणत भएको हो ।

विप्लवले पछिल्ला महिनाहरूमा क्रान्तिकारी धारको पार्टीहरूभन्दा पनि नेकपा (एमाले)सँग निकटता बढाएको आरोप खेपिरहेका थिए । यही ‘एमालेपन्को’ र विचारगत विचलनकै कारण असन्तुष्ट समूहले पार्टीबाट टुटेर नयाँ संरचना घोषणा गरेको छ ।

काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीको नेतृत्वमा ७५ सदस्यीय नयाँ केन्द्रीय समिति गठन गर्दै पार्टी पुनर्गठन गरेको घोषणा गरेको छ । भेला मार्फत मिलन सी सर्वसम्मत महासचिव चयन भएका छन् ।

नवनिर्वाचित महासचिव मिलन सीले कुरा गर्दै भने, “विप्लवको नेतृत्वमा रहेको पार्टी अब क्रान्तिको बाटोमा छैन, उनीहरू सत्तासँग सौदा गर्न र अवसर खोज्न व्यस्त छन् । त्यसैले हामीले सिद्धान्त, विचार र आन्दोलनलाई पुनः जोगाउन नयाँ बाटो लिनुपर्‍यो ।”

शरद सीलगायत केन्द्रीय सदस्यहरूले पनि विप्लवमाथि पार्टीको मूल लक्ष्य र म्याण्डेट विपरीत काम गरेको आरोप लगाएका छन् । उनका अनुसार हालै सम्पन्न केन्द्रीय समितिको निर्णय र बहुमतको मतलाई बेवास्ता गर्दै विप्लवले स्वेच्छाचारी शैलीमा पार्टी चलाउँदै आएका थिए । “विप्लवले १२ वर्षअघि सशस्त्र बाटो परित्याग गरे पनि त्यसपछि पार्टीलाई संसदीय दलहरूसँग मिलाउने दिशामा लैजाँदैछन्,” शरद सीले भने, “हामीले त्यस विरोधमा राष्ट्रिय भेला गरेर पार्टीलाई फेरि क्रान्तिकारी मार्गमा फर्काउने संकल्प गरेका छौं ।”

विप्लव नेतृत्वमाथि हालका गतिविधिले ‘क्रान्तिबाट सम्झौतामा’ पुगेको आरोप लाग्दै आएको छ । उनी पछिल्ला महिनाहरूमा एमाले नेताहरूसँगको बारम्बारको भेट, संयुक्त वक्तव्य र स्थानीय तहमा ‘सहकार्यको प्रयास’मा देखिन थालेका थिए । यसले पार्टीभित्र गम्भीर असन्तुष्टि उत्पन्न गरेको असन्तुष्ट पक्षको दाबी छ ।

नयाँ नेतृत्व समूहले भोलि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो राजनीतिक दस्तावेज, कार्ययोजना र संगठनात्मक रणनीति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । मिलन सी पक्षको दाबी अनुसार, अहिले पार्टीका बहुमत केन्द्रीय सदस्य, अधिकांश जिल्ला इन्चार्ज र जनसंगठनका प्रमुखहरू उनीहरूको साथमा रहेका छन् ।

यससँगै, नेत्रविक्रम चन्द ‘विप्लव’को राजनीतिक यात्रामा अर्को टुटफुट थपिएको छ, जसले उनको नेतृत्व क्षमता र विचारगत स्थायित्वमाथि नयाँ प्रश्न खडा गरेको छ ।