images
images
images

माओवादी, समाजवादीसहित वाम घटकबीच १७ गते एकता घोषणा हुने

काठमाडौँ – माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका वाम घटकहरुबीच कात्तिक १७ गते एकता घोषणा हुने भएको छ।

शुक्रबार समाजवादीको केन्द्रीय कमिटिको बैठकले माओवादीसहितका दलहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेसँगै आउँदो सोमबार काठमाडौँमा एकता घोषणा हुने भएको हो।

माओवादी केन्द्रले यसअघि नै पार्टी एकताका लागि निर्णय गर्दै महाधिवेशन घोषणा गरेर समाजवादीको औपचारिक निर्णय कुरेर बसेको थियो। माओवादीले आफ्ना संगठनहरुलाई एकताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

तीन दिनसम्म चलेको समाजवादीको केन्द्रीय कमिटि बैठकले एकताको निर्णयसँगै एकताका गर्ने दिन तय भएको हो। केन्द्रीय कमिटि बैठकले एकता गर्ने निर्णय गर्दै थप काम गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।

माओवादीका एक नेताका अनुसार एकता घोषणासभा गर्ने स्थल भने टुंगो लाग्न बाँकी छ।

एकीकृत भएर बन्ने पार्टीको नाम नेकपा समाजवादी राख्ने निर्णय भएको छ। चुनाव चिन्हबारे अझै अन्तिम निर्णय भइनसके पनि तारा राख्ने संभावना बलिलो रहेको समाजवादीका एक नेताले जानकारी दिए।

माओवादी र समाजवादीसँगै विप्लव नेतृत्वको नेकपाबाट शुक्रबार मात्रै विभाजित चिरन पुनको नेतृत्वको समूह, महिन्द्र राय यादव नेतृत्वको नेसपा, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी सहितका वाम घटकहरु पनि एकतामा सामेल हुने भएका छन्।

फागुन २१ गतेका लागि दल दर्ता गर्न निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको म्याद दिएकाले त्यसअघि नै एकीकृत पार्टी बनाउन दलहरु लागि परेका हुन्।

एकीकृत समाजवादीको ठूलो हिस्सा माओवादीसहितका दलहरुसँग एकताका लागि तयार भए पनि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्या भुसालसहितका नेताहरु भने एकतामा नजाने भएका छन्। नेता घनेन्द्र बस्नेत, बिजय पौडेल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुली लगायतका नेता एकताको विपक्षमा उभिएका छन्।

खनालले नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन्।