images
images
images

एमाले छाडेकाहरूलाई ओलीले भनेः जहाँ हुनुहुन्छ, आफ्नो घर फर्किनुस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत एक लामो सन्देश जारी गर्दै राष्ट्रिय एकता र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैमा आह्वान गरेका छन्।

उनले निरङ्कुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने सङ्घर्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सधैँ अपरिपक्वता रहेर नेतृत्वदायी भूमिका खेलेको दाबी गरेका छन्।

देशको स्वतन्त्रता जोगाउने, लोकतन्त्रको रक्षा गर्ने र विकासका निम्ति काम गर्ने कुरामा एमालेले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ छ। उनले एमाले केवल एउटा राजनीतिक सङ्गठन मात्र नभई जनताको रगत, पसिना र आँसुबाट बनेको विशाल परिवार भएको उल्लेख गरेका छन्।

वर्तमान समयमा देशको सार्वभौमिक अस्तित्वमाथि चुनौतीहरू आइपरेको र लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको ओलीले बताएका छन्।

उनले यस्तो बेला धैर्य नगुमाउन र राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि सबै एक मन र एक स्वरले एक दिशामा अघि बढ्न आह्वान गरेका छन्।

उनलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य स्पष्ट रहेको दोहोर्‍याउँदै राष्ट्रिय शक्ति निर्णायक हुने बताएका छन्।

ओलीले भनेका छन्, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नो घर फर्किनुस्। यो घर तपाईंहरूकै पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौँ– देशको स्वतन्त्रता जोगाऔँ, लोकतन्त्रको रक्षा गरौँ, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौँ। जुटौँ।’