जितपुरसिमरा (बारा), कात्तिक – मधेश प्रदेशलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार दृढताका साथ अगाडि बढिरहेको मुख्यमन्त्री जितेन्द्र सोनलले बताउनुभएको छ।
जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३औं वार्षिक साधारण सभा तथा अधिवेशन समारोह शुक्रबार भव्य रूपमा सम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री सोनलले जनताको आधारभूत आवश्यकता — खानेपानी, सरसफाइ र स्वच्छ वातावरण — सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत रहेको उल्लेख गर्नुभयो।
कार्यक्रम समितिका अध्यक्ष काशिम हुसेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो।
सभामा समितिको विगत वर्षको आर्थिक प्रतिवेदन, आगामी वर्षका योजना तथा नीतिगत निर्णयहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले खानेपानी सेवाको गुणस्तर सुधार, पाइपलाइन विस्तार र सरसफाइ व्यवस्थापनको दीर्घकालीन समाधानमा जोड दिएका थिए।
सभास्थल आकर्षक रूपमा सजाइएको थियो। कार्यक्रममा सहभागी उपभोक्ताहरूले समितिको निरन्तर सेवा, पारदर्शिता र उत्तरदायित्वप्रतिको अपेक्षा व्यक्त गरेका थिए।










