जनकपुरधाम, कात्तिक १५ — मिथिलाको गौरव तथा महाकवि कोकिल बाबा विद्यापतिको सम्झनामा जनकपुरधाममा आयोजना हुने महाकवि कोकिल बाबा विद्यापति स्मृति दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक समितिका अनुसार सो कार्यक्रम सोमबार बिहान ९:३० बजे जनकपुरधाम–४, मुरलीसरस्थित विद्यापति चौकमा आयोजना हुनेछ।
उक्त अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय अध्यक्ष महन्थ ठाकुर प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछन् भने मधेश प्रदेशका मुख्यमन्त्री जिनेन्द्र सोनल विशिष्ट अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।
कार्यक्रम संयोजक त्रिदेव मिश्राका अनुसार विद्यापति स्मारकमा माल्यार्पण र दीप प्रज्वलन गरिनेछ। त्यसपछि माँ दुर्गा मन्दिर प्राङ्गणमा कवि गोष्ठी समेत आयोजना गरिने कार्यक्रम तालिका रहेको छ।
आयोजक समितिका पदाधिकारीहरूले विद्यापति स्मृति दिवस मिथिला सभ्यता र भाषिक–सांस्कृतिक गौरवको प्रतीक भएको बताउँदै यसलाई निरन्तरता दिनु सबैको साझा दायित्व रहेको बताएका छन्।
साहित्यकार, कवि, शिक्षाविद् र समाजसेवीहरूको उपस्थितिले यस वर्षको स्मृति दिवसलाई अझ भव्य र अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।










