images
images
images

रामकोटको बद्रीनारायण धाममा ‘एकादशी मेला’, भक्तजनको घुईँच

काठमाडौँ कात्तिक – काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा ‘हरिबोधनी एकादशी मेला’ लागेको छ ।

बद्रीनाराण धाम मेला आयोजक मूल समारोह समितिको आयोजनामा पहिलोपटक बद्रीनारायण धाममा आज एकादशी मेला लागेको हो । उक्त मेलामा आज विहानैदेखि भक्तजनको घुईँचो लागेको छ । नारायण पोखरेल प्रतिष्ठानका संरक्षक एवम् अध्यक्ष दिनबन्धु पोखरेलले सनातनीहरुको धार्मिक धरोहर बद्रीनारायण धाम उपत्यकामा परापूर्व कालदेखि चलिआएका चार नारायण दर्शनमा पाँचौ धामको रुपमा विकास भएकाले यहाँ पहिलोपटक एकादशी मेला आयोजना गरिएको जानकारी दिनुभयो । “धार्मिक पर्यटनका लागि वर्षेनी हजारौँ भक्तजनहरु विभिन्न क्षेत्रको यात्रामा निस्किरहेको अवस्थामा नेपालमै बद्रीनारायण धाम निर्माण गरिएको हो,”– उहाँले भन्नुभयो । पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले रामकोटमा उक्त धाम निर्माण गरेको हो ।

धामको गत वैशाख १९ गतेदेखि २७ गतेसम्म प्राणप्रतिष्ठा गरिएको थियो । रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धामभित्र सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण गरिएको छ । यस्तै, धामभित्र आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ । स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो ।

उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ ।