काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको अवरोधपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन्।
स्थानीय बासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै शुक्रबारदेखि फोहोर बोकेका सवारीसाधनलाई ल्याण्डफिल्ड साइटमा प्रवेश गर्न नदिई फोहोर विसर्जनमा अवरोध गरिरहेका छन्।
उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म फोहोर फाल्न नदिने अडान लिएका छन्।
धुनबेँशी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाका अनुसार, फोहोर व्यवस्थापन वैज्ञानिक र व्यवस्थित ढंगले हुनुपर्ने र अघिल्ला सम्झौताहरू कार्यान्वयन हुनुपर्ने मागसहित आन्दोलन गरिएको हो।
२०७९ जेठ २६ गते काठमाडौं महानगरपालिकासँग भएको १८ बुँदे सहमतिअनुसार फोहोर विसर्जन राति मात्र गर्ने, दुर्गन्ध नआउने व्यवस्था मिलाउने, फोहोर बोकेका गाडीबाट लिच्चड नचुहिने सुनिश्चित गर्ने र फोहोर विसर्जनपछि लिच्चड खोलामा नपस्ने गरी वैज्ञानिक व्यवस्थापन गर्ने सहमति गरिएको थियो।
तर, ती बुँदाहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको स्थानीयहरूको गुनासो छ। मन्त्री घिसिङले स्थलमा पुगेर अवस्था अवलोकन गर्दै समस्या समाधानका उपायबारे सरोकारवालासँग छलफल गरेका छन्।










