images
images
images

९४ अर्ब संकलन, १७ अर्बभन्दा बढी भुक्तानी — सामाजिक सुरक्षा कोषको विवरण सार्वजनिक

काठमाडौँ – सामाजिक सुरक्षा कोषले हालसम्म विभिन्न योजनाअन्तर्गत १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको भुक्तानी प्रदान गरेको छ। कोषमा संकलित कुल योगदान रकम ९४ अर्ब ९ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको कोषले जनाएको छ।

कोषका अनुसार हालसम्म २५ लाख ९२ हजार १ सय ४१ जना योगदानकर्ता तथा २२ हजार १ सय २५ रोजगारदाता सूचीकृत भएका छन्। अझ बढी रोजगारदातालाई सूचीकृत गराउने प्रक्रिया निरन्तर चलिरहेको कोषले जनाएको छ।

दाबी भुक्तानीका विवरण अनुसार,

  • औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ,

  • दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत २२ करोड ३१ लाख ६३ हजार रुपैयाँ,

  • आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २८ करोड ३५ लाख ९७ हजार रुपैयाँ,

  • र अवकाश योजना अन्तर्गत १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

सामाजिक सुरक्षा कोषले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई दीर्घकालीन सामाजिक सुरक्षा प्रदान गर्नका लागि स्थापना गरिएको हो। कोषले योगदानकर्ताको हितमा थप योजनाहरू विस्तार गर्दै लैजाने तयारी गरेको जनाएको छ।