काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले यही कात्तिक २० गते एकीकृत समाजवादीसहितको बैठक बोलाएको छ । आइतबार (कात्तिक १६) पेरिसडाँडामा बसेको माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठकबाट यस्तो निर्णय गरिएको हो ।
कात्तिक १८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यसपछि एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सचिवालय सदस्य जनार्दन शर्माले भने बैठक बहिष्कार गरे । माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वमा आफ्नो निरन्तरताका निम्ति उक्त पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने शर्माले शनिबार (कात्तिक १४)को बैठकमा बताएका थिए । आइतबार भने उनी बैठकमा नआएका प्रवक्ता सापकोटाले जानकारी दिए । शर्मा ‘अराजक’ गतिविधिमा संलग्न भएको पार्टीले निष्कर्ष निकालेको उनले बताए ।
बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको माओवादी केन्द्रले जनाएको छ ।
नेता अग्निप्रसाद सापकोटाको भनाइ पढ्नोस्–
हाम्रो केन्द्रीय समिति बैठक पर्सि १८ गते बस्ने निर्णय भएको छ । अनि, संयुक्त अधिवेशन एकीकृत समाजवादीलगायतका एकतामा आउनेहरूको बैठक २० गते बस्ने कुरा भएको छ । र, आज छलफल भएको विषयहरू अब यो समायोजना गर्ने विषयमा, नीतिगत र वैचारिक विषयहरूमा फेरि एकता भएपछि हामीले नयाँ दल दर्ता गर्नुपर्छ निर्वाचन आयोगमा । त्यो दल दर्ता गर्ने विषयमा बढी छलफल भएको थियो । विशेष गरी आन्तरिक संगठनात्मक विषयमा आजको छलफल केन्द्रित भयो । आज जनार्दन शर्मा आउनुभएको थिएन । त्यसमा थप छलफल भएन । हिजो नै मैले भनेको थिएँ– उहाँले आफ्नो कुरा राख्नुभयो । अनि, अध्यक्षले बस्नुस्, अरूको पनि कुरा सुन्नुहोस् भन्नुभयो । सबैले बस्नुस् भन्दा उहाँ हिँड्नुभयो । र, हामीले हिजै भनिसकेको छौँ कि त्यो राम्रो भएन । त्यो अलि अराजक तौरतरिका भयो भनेर हिजै भनिसकिएको छ । आज त्यस विषयमा थप छलफल केही भएन । न्युज एजेन्सी नेपाल










