images
images
images

कांग्रेस मुख्यालयको गेटमा तालाबन्दी, ‘पार्टीलाई बन्धक बनाउन पाइँदैन’ भन्दै नाराबाजी

ललितपुर – नेपाली कांग्रेस सुधार अभियान (अन्डर-४०) ले पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरक्षा घेरा तोड्दै प्रदर्शन गरेको छ। अभियानमा संलग्न समूहले पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाएर विरोध प्रदर्शन गरेका हुन्।

पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरीको बाक्लो सुरक्षा घेरा हुँदाहुँदै पनि प्रदर्शनकारीहरू गेटसम्म पुग्न सफल भएका थिए। उनीहरूले नियमित महाधिवेशन गरिनुपर्छ र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ भन्ने मागसहित नाराबाजी गरेका छन्।

गेट बन्द गरिएपछि प्रदर्शनकारीहरू बाहिरै बसेर विरोध जारी राखेका छन्। उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् ‘आम कांग्रेसजन र युवाको भावनालाई नजरअन्दाज नगरियोस्’ लगायतका नारा लगाएका थिए।

नेविसंघ सदस्य भुवन भट्टले आफूहरूले पार्टीभित्र सुधारका लागि अभियान चलाएको बताए। उनले भने, “नवयुवाको परिवर्तनको आकाङ्क्षालाई नजरअन्दाज गर्न मिल्दैन। पार्टीले समयसापेक्ष रूपमा आफ्ना संरचना र सोच परिवर्तन गर्नुपर्छ,” भट्टले भने।