images
images
images

एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स, युवा सक्रियतामा नयाँ पहल

काठमाडौँ – नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको औपचारिक घोषणा गरेको छ।

भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलामा यो फोर्सको उद्घाटन भएको हो। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिए।

युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतका अनुसार युथ भोलेन्टियर फोर्सका लागि विशेष आचार संहिता तयार पारिएको छ। उनले भने, “हामीले भक्तपुरमा पहिलो पटक यो फोर्स गठन गरेका छौँ। आगामी दिनमा ललितपुर, काठमाडौँ, काभ्रे, रामेछाप लगायतका जिल्लामा पनि फोर्स विस्तार गर्ने योजना छ।”

बस्नेतले जानकारी दिए, “केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि २ हजार युवा यस क्षेत्रमा खटिएका छन्। गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन। यस फोर्सले सबै खालका अराजकता नियन्त्रण र नेताहरूको सुरक्षा सुनिश्चित गर्नेछ।”

यस्तो पहल मधेश, पहाड र हिमाल क्षेत्रका संगठनहरूको साथसहित गरिएको हो। बस्नेतले विगतमा युथ फोर्स गठन गरेर माओवादीको आतंक हटाइएको अनुभवलाई उदाहरण दिँदै, अहिले पनि युवा टोलीले समाजमा शान्ति र सुरक्षामा योगदान गर्ने बताए।