images
images
images

प्रधानमन्त्री कार्कीको कडा निर्देशन : वायु सेवा निगमका बेथिति तुरुन्त अन्त्य गर्न आदेश

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) भित्र फैलिएका बेथिति र पहुँचका आधारमा गरिएका नियुक्ति तुरुन्त हटाउन निर्देशन दिएकी छन्।

पर्यटन मन्त्रीको जिम्मेवारी पनि सम्हालेकी प्रधानमन्त्री कार्कीले आइतबार सिंहदरबारमा निगमका सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई बोलाएर संस्थागत सुधारका लागि कठोर कदम चाल्न आदेश दिइन्।

उनले भनिन्, “जेन जेडहरूले यत्रो संघर्ष र रगत बगाएको केका लागि हो — यस्तै नातावाद, कृपावाद र विभेद अन्त्यका लागि होइन र? अवकाश पाउन लागेका कर्मचारीले पनि मनपरी गर्ने अवस्था कति सम्मको बेथिति हो!”

प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था “धनाढ्यको बिग्रिएको घर” सँग तुलना गर्दै कसैको मुख नहेरी सुधारका कदम चाल्न निर्देशन दिइन्। उनले निगम सुधारका लागि विगतमा बनेका प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताइन्।

कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीको विवरण प्रस्तुत गरे।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार र राजनीतिक हस्तक्षेपप्रति चेतावनी दिँदै भनिन्, “राजनीतिक दबाबमा नपर्नुहोस्। विधिसम्मत रूपमा काम गर्दा कसैले कारबाही गर्न सक्दैन। राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन।”

उनले निगमका इन्जिन मर्मत, भाडाको इन्जिन चलाउने, र अनावश्यक खर्च गर्ने प्रवृत्तिमाथि समेत कडा प्रश्न उठाइन्।
“यो घाटा त जनताले बेहोर्दै आएका छन्,” उनले भनिन्, “अब सुधारका लागि अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ।”

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्य सचिव एकनारायण अर्याल, र निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईको समेत उपस्थिति थियो। राईले निकट भविष्यमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउँदै भने, “निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ, त्यसका लागि सरकारको साथ आवश्यक छ।”