काठमाडौँ – नेपाल राष्ट्र बैंकले राजन विक्रम थापालाई कार्यकारी निर्देशक (Executive Director) पदमा बढुवा गरेको छ। यसअघि निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थापा वरिष्ठताका आधारमा बढुवा भएका हुन्।
डा. गुणाकर भट्ट अनिवार्य अवकाशमा गएपछि प्रशासन सेवातर्फको एक कार्यकारी निर्देशक पद रिक्त रहेको थियो। सोही पदमा थापालाई बढुवा गरिएको मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक विश्व्रुत थापाले जानकारी दिए। उनका अनुसार, बढुवा प्रक्रिया राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ र ६५ बमोजिम सम्पन्न गरिएको हो।
थापालाई बढुवीसँगै गभर्नरको कार्यालयको जिम्मेवारी पनि प्रदान गरिएको छ।
विसं २०५३ मा सहायक पदबाट राष्ट्र बैंक प्रवेश गरेका थापा २०५९ साउन २७ गते सहायक निर्देशकमा पदोन्नति भएका थिए। सोही समूहका हालका डेपुटी गभर्नर बम बहादुर मिश्रसहित २० जना अधिकारीमध्ये उनी पनि एक हुन्।
हाल ती समूहका १४ जना अधिकारी व्यवस्थापन तहमा कार्यरत छन्। थापा समकालीन आर्थिक विषयमा लेख लेख्ने, साहित्यिक तथा गीतिक क्षेत्रमा रुचि राख्ने र सामाजिक कार्यमा समेत सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।










