काठमाडौँ- देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेकपा माओवादी माओवादी-एकीकृत समाजवादी एकतामा आबद्ध भएका छन्।
सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र किरातीबीच औपचारिक रूपमा एकता पत्रमा हस्ताक्षर गरिएको छ।
एकता पत्रमा हाल नेपाली राजनीतिमा देखा परेको अभूतपूर्व जोखिमका बीच परिस्थितिलाई सही दिशातर्फ लैजान क्रान्तिकारी शक्तिहरू एक ठाउँमा आउनु अपरिहार्य भएको उल्लेख छ।
पत्रमा भनिएको छ, “जनयुद्धका बेला अपनाइएको हरेक प्रतिकूलतालाई अनुकूलतामा रूपान्तरण गर्ने नीतिअनुसार देशका क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण आजको मुख्य कर्तव्य हो।”
दुवै पक्षले १० वर्षे सशस्त्र जनयुद्धको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नेपाली समाजको प्रकृतिअनुसार अग्रगामी विकास कार्यान्वयनमा दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
विगतमा भएका वैचारिक, राजनीतिक तथा सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गर्ने र त्यसको दस्तावेजीकरण गर्ने सहमति पनि भएको छ। उक्त समीक्षाको मार्गदर्शनमा जनस्तरबाटै एकता, संघर्ष र रूपान्तरणको प्रक्रिया अघि बढाइने उल्लेख छ।
गोपाल किरातीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रबारे पार्टीभित्र गम्भीर छलफल गरी ‘पूर्ण जनवाद’ का आधारमा निर्णय लिइने उल्लेख एकता पत्रमा गरिएको छ।
सहमति अनुसार, देशभक्त समाजवादी मोर्चाका अध्यक्ष किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू अब माओवादी केन्द्रभित्र ध्रुवीकृत हुनेछन्।
स्वदेश र विदेशमा रहेका मजदुर, किसान, सुकुमवासी, वित्तीय शोषणपीडित, विस्थापित वर्ग, लिङ्ग, जातजाति, क्षेत्र र देशभक्त शक्तिहरूबीच समाजवादी ध्रुवीकरणलाई सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता र सम्प्रभूताको सुदृढीकरणतर्फ अघि बढाइने उल्लेख छ।










