images
images
images

जनकपुरधाममा महाकवि विद्यापतिको स्मृति दिवस विविध कार्यक्रमसहित मनाइयो

जनकपुरधाम – मैथिली साहित्यका महाकवि विद्यापतिको स्मृति दिवस जनकपुरधाममा विविध कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइएको छ।

कार्तिक धवल त्रयोदशीका दिन महाकवि विद्यापतिको अवसान भएको स्मरणमा प्रत्येक वर्ष यस दिवसमा विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरिँदै आएको छ। यस वर्ष पनि जनकपुरधामस्थित विद्यापति चोकमा विद्यापति स्मृति पर्व समिति द्वारा विशेष समारोहको आयोजना गरिएको थियो।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले विद्यापतिको रचनाहरू कालजयी रहेको बताउँदै भने, “विद्यापति केवल मैथिलीका मात्र होइनन्, उनी विश्व साहित्यका साझा र पूजनीय व्यक्तित्व हुन्। उनका कृतिहरूले भाषा र संस्कृतिको सीमाना नाघेका छन्।”

अध्यक्ष ठाकुरले मैथिली भाषालाई रोजगारीसँग जोड्ने पहल नगरेसम्म विद्यापति प्रतिको सच्चा श्रद्धाञ्जली अधूरो रहने बताए। उनले प्रदेश सरकारलाई यसतर्फ ठोस कदम चाल्न आग्रह गरे।

त्यस्तै, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले कुनै पनि भाषाको दिगो विकासका लागि राजकीय संरक्षण र रोजगारीसँगको सम्बन्ध आवश्यक हुने उल्लेख गर्दै भने, “मधेस प्रदेश सरकारले मैथिली भाषालाई प्रदेशको प्रमुख भाषाको रूपमा स्थापित गर्ने नीतिगत तयारी गरिरहेको छ।”

कार्यक्रममा प्रदेश तथा स्थानीय तहका प्रतिनिधि, साहित्यकार, विद्यार्थी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको विद्यापति स्मृति पर्व समितिले जनाएको छ।