images
images
images

राजीनामा दिन लागेको समाचार असत्य भएको मन्त्री घिसिङको स्पष्टोक्त

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिन लागेको भन्ने समाचार असत्य भएको दाबी गरेका छन्।

देश सञ्चारले प्रकाशित गरेको समाचारप्रति लक्षित गर्दै घिसिङले आफू जेन–जी पुस्ताको आशा र विश्वास पूरा गर्न लागिपरेको बताउँदै राजीनामाको कुनै तयारी नभएको स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु। जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ। तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।”

सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा घिसिङले भौतिक पूर्वाधारसँगै शहरी विकास तथा ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

हालै काठमाडौँ महानगरका मेयर बालेन शाहको नेतृत्वमा नयाँ दल दर्ताको तयारी भइरहेको बेला घिसिङ पनि सो तयारीमा संलग्न रहेको दाबी स्रोतले गरेको थियो। तर दल दर्ताबारे उनले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

कार्की नेतृत्वको सरकार गैरदलीय भएकाले दलमा आबद्ध भएपछि नैतिकताका आधारमा सरकारमा बस्न नमिल्ने चर्चा भए पनि घिसिङले राजीनामा दिने सम्भावनालाई अस्वीकार गरेका छन्।

उनको नेतृत्वमा रास्वपा छाडेका सुमना श्रेष्ठ, सुधन गुरुङ र सागर ढकाललगायतले नयाँ राजनीतिक दल दर्ताको तयारी गरिरहेको बताइएको छ।

केही दिनअघि बालुवाटारमा सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरूसँग चुनाव लड्ने तयारीबारे सोध्दा अन्य मन्त्रीले अस्वीकार गरे पनि घिसिङले त्यसबारे कुनै टिप्पणी नगरेको स्रोतले जनाएको छ।