images
images
images

माओवादी केन्द्रको बैठक आज, आठ दल एकताको सहमति अनुमोदन हुन

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा हालै आठ दलसँग भएको पार्टी एकता समझदारीलाई अनुमोदन गर्ने एजेन्डा रहेको जनाइएको छ।

आइतबार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित आठ दलबीच १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको थियो। उक्त सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित अन्य दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका थिए।

सहमति अनुसार नयाँ एकीकृत दलको चुनाव चिन्ह पाँच कुने तारा रहनेछ भने पार्टीको नाम भने अझै टुंगो लागेको छैन। पार्टीको सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने र आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति भएको छ।

नेताहरूले बुधबार औपचारिक रूपमा पार्टी एकता घोषणा गर्ने र बिहीबार एकीकृत केन्द्रीय समिति बैठक बस्ने तयारी पनि गरेका छन्।