काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा आज विशेष पत्रकार सम्मेलन गर्दैछन्। पार्टी नेतृत्वले नेकपा (एकीकृत समाजवादी) सहित साना दलसँग गरेको एकता प्रक्रियाप्रति असहमति जनाउँदै उनले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।
शर्माको पत्रकार सम्मेलन ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे हुने जनाइएको छ। उनले यसअघि आइतबार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी एकता प्रक्रियामा सहभागी नहुने निर्णय सुनाइसकेका थिए।
माओवादी केन्द्रले आज दिउँसो १ बजे बस्ने महाधिवेशन आयोजक समितिको बैठकमार्फत आठ दलसँगको एकता समझदारी अनुमोदन गर्ने तयारी गरेको छ। तर, शर्माले भने यो प्रक्रिया तात्कालिक रूपमा रोक्नुपर्ने बताएका छन्।
यसबीच, पार्टीभित्र एकता प्रक्रियाप्रति असन्तुष्टि बढ्दै गएको छ। माओवादीसँग नजिक रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल, साथै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समेतले मिलेर नयाँ वाम मोर्चा बनाउने तयारी गरिरहेका छन्।
शर्मालाई माओवादीका सचिव राम कार्की, पूर्वमन्त्री सुदन किराँती लगायतका नेताहरूको समर्थन रहेको बताइएको छ।










