images
images
images

माधव–‘प्रचण्ड’ एकताकै दिन झलनाथ–घनश्याम समूहको विशेष घोषणा कार्यक्रम

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) भित्रको विवाद चर्किँदै गएपछि पार्टी दुई धारमा बाँडिएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको एकता राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउने तयारी गरेको छ भने, त्यसकै समयमा झलनाथ–घनश्याम समूहले पनि विशेष घोषणा गर्ने भएको छ।

नेपाल पक्षले बिहीबार बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘एकता राष्ट्रिय सम्मेलन’ आयोजना गर्दै नेता, कार्यकर्ता र जनसंगठनका प्रतिनिधिलाई उपस्थित रहन निर्देशन दिएको छ। सोही समयमा झलनाथ–घनश्याम पक्षले भने त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डीसी हलमा विशेष घोषणा कार्यक्रम गर्ने तयारी गरेको हो।

झलनाथ–घनश्याम पक्षका नेता धर्मराज निरौलाका अनुसार बिहीबारको कार्यक्रममा नयाँ पार्टी निर्माणको दिशाबारे जानकारी दिइनेछ र त्यसपछि कात्तिकभित्रै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिनेछ। उनले भने, “राज्य दोहन गरेका, फौजदारी अभियोग र भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई सदस्य नबनाउनेसहितका नयाँ घोषणा गर्दैछौं।”

उनका अनुसार, पार्टीभित्रको असन्तुष्ट पक्षले आफूहरूको धारणा र भूमिका स्पष्ट पार्न उक्त कार्यक्रमको आयोजना गरेको हो।

निरौलाले एमाले फर्किने विषयमा समेत प्रतिक्रिया दिँदै भने, “एमाले महाधिवेशनपछि आउने नयाँ नेतृत्वसँग आवश्यक संवाद र सहकार्यका विकल्पबारे मात्र छलफल हुनेछ, अहिले फर्किने प्रसंग होइन।”

पछिल्लो समय झलनाथ खनाल र घनश्याम भुसालबीचको मतभेदबारे सोध्दा निरौलाले ‘फाटो होइन, केवल भ्रम मात्र भएको’ बताउँदै स्पष्टता आइसकेको जानकारी दिएका छन्। उनका अनुसार, खनाललाई अभिभावक र भुसाललाई पार्टी नेतृत्वकर्ता बनाउने सहमतिसहित दुवै नेता सोही समूहमा रहेका छन्।