images
images
images

सुनचाँदी पसलमा छापा मार्ने प्रहरीमाथि कारबाही नगरेको विरोधमा जनकपुरधाम बजार बन्द

जनकपुरधाम -धनुषाको जनकपुरधाममा प्रहरीले सुनचाँदी पसलमा गरेको छापामारीको विरोधमा आज बिहानदेखि बजार बन्द गरिएको छ। प्रहरीमाथि कारबाही नभएको भन्दै व्यवसायीहरूले आक्रोश प्रकट गर्दै आज दिउँसो १२ बजेसम्मका लागि बजार बन्द गरेका हुन्।

जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीहरूले आफ्नो पसल बन्द गरेर विरोध जनाएका हुन्। मंगलबार संघको नेतृत्वमा निकालिएको विरोध र्यालीले नगरका विभिन्न चोकमा प्रदर्शनसमेत गरेको थियो।

गत असोज ३१ गते सुनचाँदी बजारमा प्रहरीले छापा मार्दा व्यापारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले अवैध सुनचाँदी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा छापा मारेको थियो। त्यस क्रममा ढुङ्गामुढा भएपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाई फायर समेत गरेको थियो। सो क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीसहित केही व्यापारी घाइते भएका थिए।

उक्त घटनापछि उद्योग वाणिज्य संघले धनुषाका प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई चार बुँदे मागसहित ज्ञापनपत्र बुझाउँदै प्रहरी नायव उपरीक्षक गणेशबहादुर बम र प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवलगायतमाथि कारबाही गर्न माग गरेको थियो। तर माग पूरा नभएपछि आज व्यवसायीहरूले बजार बन्द गरेर विरोध प्रदर्शन गरेका हुन्।

संघका कार्यवाहक अध्यक्ष मनोजकुमार साहका अनुसार व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन्। शनिबारदेखि सोमबारसम्म व्यवसायीहरूले पसलमा कालो झण्डा र कालो पट्टी बाँधेर विरोध जनाएका थिए भने आज बजार पूर्ण रूपमा बन्द गरिएको हो।