काठमाडौँ – नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीको महाधिवेशन अब अनिवार्य रूपमा गर्नुपर्ने बताएका छन्। उनले पार्टीभित्र महाधिवेशनबारे मतभेद रहिल्यापनि त्यसलाई टार्न नसकिने स्पष्ट पारेका छन्।
मंगलबार (कात्तिक १८ गते) थापागाउँमा आयोजित एक भेलामा बोल्दै बजगाईंले भने, “नेपाली कांग्रेसमा महाधिवेशन अनिवार्य छ। प्रश्न केवल कुन महाधिवेशन गर्ने — नियमित कि विशेष — भन्ने मात्र हो।”
उनका अनुसार यस विषयको समाधान पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, साथै डा. शेखर कोइरालाले मिलेर निकाल्नुपर्ने समय आएको छ।
बजगाईंले थपे, “नियमित महाधिवेशन नगरे स्वतः विशेष महाधिवेशन हुन्छ। संस्थापन पक्षले के गर्छ, त्यो उसको कुरा हो। तर ती तीन नेताले बसेर साझा धारणा सार्वजनिक गर्नुपर्छ।”
उनले पार्टीभित्रको नेतृत्व तहमा स्पष्ट निर्णय र साझा दृष्टिकोण नआउँदा संगठन कमजोर भएको बताउँदै महाधिवेशन नै कांग्रेसको लोकतान्त्रिक जीव्ताको आधार रहेको टिप्पणी गरेका छन्।










