images
images
images

माओवादी छाडेर ‘प्रचण्ड’ले माधव नेपालको नीतिमा आत्मसमर्पण गरेका छन् : जनार्दन शर्मा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का पूर्व उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि माओवादीको मूल विचार र सिद्धान्त त्यागेर माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्।

साना दल र नेकपा (एकीकृत समाजवादी) सँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेका शर्माले मंगलबार पत्रकार सम्मेलन गर्दै भने, “आयोजक कमिटीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर एकताको नाटक गरेको हो। यो महाधिवेशन टार्ने र पार्टीभित्र विधि–पद्धति निषेध गर्ने षड्यन्त्र हो।”

उनका अनुसार अहिलेको एकता प्रक्रिया पार्टीभित्र लोकतान्त्रिक अभ्यास र प्रतिस्पर्धात्मक नेतृत्व निर्माणको बाटो बन्द गर्न गरिएको प्रयास हो। उनले भने, “पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यले एकता भइरहेको छ। यसले न देशलाई निकास दिन्छ, न जनताको विश्वास नै पाउँछ।”

शर्माले प्रचण्ड नेतृत्वले माओवादीको मूल एजेन्डा बिर्सेर ‘माधव नेपालको राजनीतिक लाइनमा आत्मसमर्पण’ गरेको बताए। उनका शब्दमा, “हामीले त्यो कुरा स्वीकार गर्न सकेनौँ, त्यसैले हामीले पुनर्गठनको प्रगतिशील अभियान अघि बढाएका छौँ।”

उनले हालको पार्टी पुनर्गठनलाई सिद्धान्त र विचारमा आधारित प्रगतिशील धारको पुनर्स्थापना अभियान भएको बताएका छन् र “अहिले भइरहेको ध्रुवीकरण सिद्धान्तभन्दा बाहिरको राजनीतिक सम्झौतामा सीमित छ” भन्ने टिप्पणी गरेका छन्।