सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा फैलिएको झाडापखालाको महामारी नियन्त्रणका लागि मधेश प्रदेश सरकारले गम्भीरता देखाएको छ।
मिति २०८२ साल कात्तिक १५ गतेदेखि सो क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेपछि मुख्यमन्त्री जितेन्द्र सोनलले स्वास्थ्य सेवा सुचारु गर्न, महामारी नियन्त्रणका लागि तत्काल कदम चाल्न र आवश्यक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री सोनलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशका सचिव, सप्तरीका प्रमुख जिल्ला अधिकारी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र स्वास्थ्य कार्यालय सप्तरीका प्रमुखसँग प्रत्यक्ष छलफल गरी झाडापखाला नियन्त्रणका लागि आवश्यक योजना र तत्कालीन कार्यान्वयनका उपायहरूमा जोड दिएका छन्।
त्यस्तै मुख्यमन्त्री सोनलले छिन्नमस्ता गाउँपालिकाका प्रमुख विद्यानन्द चौधरीसँग संवाद गरी आवश्यक सहयोग गर्न आग्रह पनि गर्नुभएको छ।
उनले संक्रमितहरूको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, औषधि, रोग निदानका उपकरण तथा आवश्यक स्वास्थ्य सामग्रीहरू तुरुन्तै उपलब्ध गराउन निर्देशन दिएका छन्।
त्यस्तै, मुख्यमन्त्री सोनलले प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशकहरूलाई पनि आवश्यक स्रोत साधन परिचालन गर्न र महामारी फैलिन नदिन सर्वसाधारणमा जनचेतना कार्यक्रम सशक्त रूपमा सञ्चालन गर्न आदेश दिएका छन्।
प्रदेश सरकारले झाडापखालाको जोखिमलाई मध्यनजर गर्दै आवश्यक परेमा स्वास्थ्य विज्ञ टोलीसहित जनशक्ति परिचालन गर्न तयारी अवस्थामा रहेको जनाएको छ।
मुख्यमन्त्री सोनलले भने, “जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता हो। प्रदेश सरकार नागरिकको स्वास्थ्य सुरक्षाका लागि सबै आवश्यक सहयोग र स्रोत साधन उपलब्ध गराउन प्रतिबद्ध छ।”










