दोहा (कतार) – राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच दोहामा भेटवार्ता भएको छ। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पुगेका राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच उक्त भेटवार्ता भएको हो।
भेटमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरू कार्यान्वयन गर्दै सामाजिक विकासलाई तीव्रता दिन महासचिवले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। उनले शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि नेपाल संयुक्त राष्ट्रसंघसँग निकट समन्वयमा रहन तयार रहेको बताएका थिए।
राष्ट्रपति पौडेलले हालैको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएको उल्लेख गर्दै सो आन्दोलनले उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको बताएका थिए। “युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं,” उनले भने।
पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते आम निर्वाचन घोषणा भएको र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको जानकारी गराएका थिए। उनले उक्त निर्वाचनले देशमा सुशासन, विकास र समृद्धिको नयाँ बाटो खोल्ने विश्वास पनि व्यक्त गरेका थिए।
जलवायु परिवर्तनका प्रभावका विषयमा उनले भने, “सगरमाथा आधार शिविरको भ्रमणका क्रममा तपाईंले अवलोकन गर्नुभएजस्तै हाम्रा सेता हिमालहरू काला पहाडमा परिवर्तन भइरहेका छन्। यी हिमालहरू एसियाको पानीका स्रोत हुन्, तर हिउँ पग्लँदै जाँदा तल्लो क्षेत्रमा बसोबास गर्ने जनताको जीवन जोखिममा परिरहेको छ।”
राष्ट्रपति पौडेलले नेपालले कार्बन उत्सर्जन नगण्य भए पनि जलवायु परिवर्तनका प्रतिकूल प्रभाव असमानुपातिक रूपमा भोगिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षा गरेका थिए।
गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक समावेशिताका चुनौती समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सम्मेलनले दिगो विकास एजेन्डा–२०३० को कार्यान्वयनमा नयाँ गति दिने विश्वास व्यक्त गरे।
सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकका लागि विकसित देशहरूबाट सहयोग जुटाउन संयुक्त राष्ट्रसंघ प्रतिबद्ध रहेको बताएका थिए। उनले मानव अधिकारका पक्षमा नेपालको प्रगतिलाई प्रशंसा गर्दै, “नेपालका संस्थाहरू आफ्ना समस्या समाधान गर्न सक्षम छन्,” भन्दै समर्थन व्यक्त गरेका थिए।










