काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको मर्मविपरीत ढंगले प्रधानमन्त्री नियुक्ति र त्यसपछिका राजनीतिक कदमले देश अस्थिर दिशातर्फ लागेको आरोप लगाएका छन्।
बुधबार एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको सदस्य नै नभएको व्यक्तिलाई असंवैधानिक ढंगले प्रधानमन्त्री बनाइएको भन्दै त्यसले संविधान र लोकतन्त्रको आधार नै कमजोर बनाएको बताए।
उनले भने, “पहिलो नम्बरमा प्रतिनिधि सभाको सदस्य नै नभएको व्यक्ति असंवैधानिक ढंगले प्रधानमन्त्री भयो। त्यस्तो प्रधानमन्त्रीले संविधानको कुन धाराअन्तर्गत प्रतिनिधि सभा विघटन गरे? प्रधानमन्त्रीको सिफारिस भनेपछि यसै हुन्छ?”
ओलीले आफू प्रधानमन्त्री हुँदा संसद् विघटनको निर्णय जायज र आवश्यकताको सिद्धान्तअनुसार रहेको दाबी गरे। उनले भने, “म त बहुमत प्राप्त प्रधानमन्त्री थिएँ, झन्डै दुई तिहाइको सरकार थियो। संसद् चल्नै नसक्ने र देश भाडभैलोमा जाने अवस्थामा ताजा जनादेशमा जानु उचित ठानेर संसद् विघटनको सिफारिस गरेको थिएँ।”
उनका अनुसार त्यतिबेला अदालतले आवश्यकताको सिद्धान्तका आधारमा चुनावको मिति तोक्ने आदेश दिएर देशलाई सकारात्मक दिशातर्फ लैजान सक्थ्यो, तर त्यो नभएकाले अहिलेको अस्थिरता सिर्जना भएको हो।
ओलीले हाल देखिएको राजनीतिक अस्थिरताको जिम्मेवारी पनि स्थिरता विरोधी शक्तिहरूमा हाल्दै भने, “निर्वाचनपछि सरकारी दाउपेचबाहेक केही भएन। कांग्रेस–एमाले मिलेर स्थिरता ल्याएपछि पनि पाँच वर्ष कुनै सरकार टिक्न नदिने शक्तिहरू सक्रिय बने।”
उनले अन्त्यमा प्रश्न गरे, “अखिर स्थिर सरकार ढालेर के उपलब्धि भयो?”










