images
images

एकता घोषणाको पूर्वसन्ध्यामा ‘प्रचण्ड’को राजनैतिक सक्रियता : खनाल–भुसालसँग संवाद

काठमाडौँ  -नेकपा एकीकृत समाजवादीभित्र पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाएका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवासमै बोलाएर विशेष छलफल गरेका छन्।

प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार खनाल र भुसाल मंगलबार बिहान प्रचण्डको निवास पुगेर भेटवार्ता गरेका हुन्। उनले भने, “दुवै नेताले प्रचण्डसँग छलफल गर्नुभएको हो। अघिपछि आइपुग्नुभयो तर छलफल सँगसँगै भएको हो। के सहमति भयो भन्ने भने अहिलेसम्म थाहा छैन।”

छलफलमा माओवादी तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। स्रोतका अनुसार प्रचण्डले दुई नेतासँग वाम एकताको पक्षमा उभिन आग्रह गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहित नौ दलसँग पार्टी एकता गर्ने निर्णय गरेपछि खनाल र भुसाल असन्तुष्ट बनेका छन्। उनीहरू दुवैजना बेग्लै राजनीतिक अभियान चलाउने तयारीमा रहेको बताइएको छ।

यसबीच, वाम दलहरूको एकता घोषणा आज दिउँसो १ बजे हुने कार्यक्रम तय गरिएको छ। प्रचण्ड र माधव नेपाल नेतृत्वको उक्त एकता घोषणा कार्यक्रमले नयाँ वाम शक्तिको प्रारम्भिक रूप लिन सक्ने अपेक्षा गरिएको छ।