images
images
images

एकाबिहानै विप्लव निवासमा शर्मा र भूसाल

काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको एकता प्रक्रियाबाट असन्तुष्ट प्रमुख दुई जना नेताहरु नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको निवासमा पुगेका छन् ।

एकीकृत समाजवादीसहितका दलसँग पार्टी एकता गर्ने प्रक्रियाबाट बाहिरिएर ‘नेपाल प्रगतिशील अभियान’ सुरु गरेका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीले बुधबार कारबाही गरेका नेता घनश्याम भूसाल आज बिहानै विप्लव निवास हरिसिद्धी पुगेका हुन् । भेटमा पछिल्लो विकसित परिस्थिति र आगामी सहकार्यलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ । तीनै जना नेताहरुबीच पार्टी विभाजन अघिपनि छलफल हुँदै आएको थियो ।

पछिल्लो समय कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने भन्दै तीन पार्टीका नेताहरु नेत्रविक्रम चन्द, जनार्दन शर्मा र घनश्याम भुसालबीच निकटता बढेको छ । उनीहरुको सक्रियता सार्वजनिक रुपमा देखिन थालेको छ । यी तीन नेता केही साताअघि काठमाडौंमा पनि एउटै मञ्चमा भेला भएका थिए । त्यसअघि तीनै जना नेता बुटवलमा भेला भएका थिए। लगातारको भेटघाटपछि भुसाल, शर्मा र विप्लव नयाँ पार्टी बनाएर अघि बढ्ने सुरमा लागेको चर्चा भइरहेको छ ।