जनकपुरधाम, कार्तिक -मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ ले देशभर सञ्चालन हुन गइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन सबै पक्षको सहयोगको अपिल गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशबाट जारी विज्ञप्तिमा कार्तिक २० र २१ गते देशव्यापी रूपमा सञ्चालन हुने कार्यक्रममा प्रदेशका सबै स्थानीय तहका वडाहरूमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहने उल्लेख गरिएको छ । उक्त अभियानअन्तर्गत ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि (अलवेन्डाजोल ट्याबलेट) खुवाइनेछ ।
मुख्यमन्त्री सोनलले प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मातहतका सबै निकाय, स्थानीय तह र सरोकारवालाहरूलाई कार्यक्रम सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ ।
भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने यो राष्ट्रिय अभियानले बालबालिकामा कुपोषण, रगतअल्पता, दृष्टि समस्या तथा जुकाको असर घटाउनेमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास मुख्यमन्त्री सोनलले व्यक्त गर्नुभएको छ ।










