images
images
images

मुख्यमन्त्री सोनलको दृष्टिकोण : भाषा, परम्परा र जीविकाको एकता नै विकासको आधार

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले भाषा, परम्परा र जीविकालाई एकअर्कासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले भाषाको संरक्षण र प्रवर्द्धनका लागि त्यसलाई जनजीविकासँग जोड्नु अत्यावश्यक रहेको बताउनुभयो।

नेपाल इङ्लिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा)ले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा बोल्दै मुख्यमन्त्री सोनलले संसारका धेरै भाषा जनजीविकासँग नजोडिँदा लोप भएको उदाहरण दिँदै आफ्ना परम्परागत भाषा, संस्कृति र सभ्यतालाई पनि जीविकासँग सम्बन्धित बनाउँदै विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

इङ्लिस विश्वव्यापी रूपमा प्रभावकारी भाषा भइसकेकाले विद्यार्थीहरूले इङ्लिसको ज्ञानसँगै आफ्ना परम्परा र मातृभाषाको पनि अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले परम्परा, जीवनका मूल्य र जीवनको सार्थकतासँग जोडिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

मुख्यमन्त्री सोनलले सामुदायिक विद्यालयमा इङ्लिस विषयको अध्ययन–अध्यापन सन्तोषजनक अवस्थामा नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउँदै शिक्षकहरूलाई विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गराउँदा उनीहरूको संस्कार र नैतिकता जोगाउनेतर्फ सचेत रहन आग्रह गर्नुभयो।