जनकपुरधाम — मधेश विश्वविद्यालयमा फैलिएका विभिन्न अनियमितता र बेथितिप्रति असन्तुष्टि जनाउँदै कानून संकायका विद्यार्थीहरू मुख्यमन्त्री जितेन्द्र सोनललाई भेट्न जनकपुर आएका छन्। अध्ययन–अध्यापनको वातावरण कमजोर भएको र विश्वविद्यालयको गरिमा जोगाउन तत्काल सुधार आवश्यक भएको उनीहरूको माग छ।
वीरगंजस्थित मधेश विश्वविद्यालयको कानून संकायका विभिन्न सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूले विश्वविद्यालयका कुलपतिको हैसियतमा रहेका मुख्यमन्त्री सोनललाई भेटी समस्याबारे अवगत गराएको प्रेस सल्लाहकार कामरेन्द्र वर्मा ‘गौरव’ ले जानकारी दिएका छन्।
विद्यार्थीहरूले मुख्यमन्त्री सोनललाई विश्वविद्यालयमा विषयगत ज्ञान नभएका कर्मचारी भर्ना गरिएका, उपकुलपति र रजिष्ट्रारले कार्यालयमा समय नदिने, ‘हेलमेट शिक्षक’ को भरमा पढाइ सञ्चालन भइरहेका, छात्रालाई शौचालय सुविधा समेत नदिइनेजस्ता गुनासा पेस गरेका थिए।
गुनासा सुनेपछि मुख्यमन्त्री सोनलले शनिबारसम्म आफू सैद्धान्तिक प्रक्रियामा व्यस्त रहेको भन्दै सो कार्य सम्पन्न भएपछि विश्वविद्यालयका समस्याहरू समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “विश्वविद्यालयको साख घट्ने गरी कुनै पनि निर्णय’ नहोस्। व्यवस्थापन पक्ष, सरकार र विद्यार्थी सबै मिलेर सुधारको बाटोमा अघि बढ्नुपर्छ।”










