काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले ‘जेनजी’ आन्दोलनमा ध्वस्त भएका होटेल तथा पर्यटन क्षेत्रको पुनर्निर्माणका निम्ति पुनर्स्थापना कोष स्थापना गर्न सरकारसँग माग गरेका छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उक्त कोषमा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहकार्यमा जोड दिइनुपर्ने सुझाव समेत उनले दिए । उनले मुलुकमा विद्यमान आर्थिक संकट समाधानका निम्ति सरकार र निजी क्षेत्रबीच स्थायी संवाद संयन्त्र आवश्यक रहेको औँल्याए ।
“सरकार र निजी क्षेत्रबीच स्थायी संवाद संयन्त्र आवश्यक छ । ध्वस्त भएका होटेल र पर्यटन क्षेत्रको पुनर्निर्माणका लागि पुनर्स्थापना कोष गठन गरिनुपर्छ,” उनले भने, “यसमा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारको सहकार्य आवश्यक छ । युवा र महिला उद्यमीलाई कर छुट, सहुलियत ऋण र प्राविधिक सीप प्रदान गर्न आवश्यक छ ।”
उपाध्यक्ष श्रेष्ठले मुलुकमा आगजनी र तोडफोडले उद्योग, व्यवसाय ध्वस्त हुँदा निजी क्षेत्रको मनोबल घटेको उल्लेख गरे । त्यसलाई बढाउने गरी वातावरण बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए । न्युज एजेन्सी नेपाल










