images
images
images

फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष ‘अपरेसन’ सञ्चालन गर्ने

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष ‘अपरेसन’ सञ्चालन गर्ने बताएका छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो बताएका हुन् ।

यसमा नागरिकस्तरको तहबाट पनि सहयोग आवश्यक रहेकामा जोड दिए । सुशासन दिन नसके द्वन्द्व दोहोरिन सक्ने उनले बताए । उनले हालसम्म ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका ७१० थान हतियार फिर्ता भइसकेको जानकारी गराए । केही हतियार फिर्ता हुन बाँकी रहेको उनले बताए ।

अझै ३५ प्रतिशत कैदीबन्दी फरार रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको भनाइ पढ्नोस्–
सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठूलो म्यासेज अहिले दिएको छ । त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन, सुरक्षा संकट नै निम्तिन सक्छ । हतियारको विषयवस्तु छ । ७१० वटा हतियार फिर्ता गरिसकेका छौँ । कतिपय डढेका पनि छन् । केही फिर्ता हुन बाँकी छ । कैदीबन्दीहरू अहिलेसम्म १४ हजार ५४९ जना फरार भएकोमा नौ हजार ५२१ जना (६५ प्रतिशत) फिर्ता भइसकेका छन् । केही संख्या अझै पनि बाहिर छ । पाँच हजार १०५ जना अहिले पनि बाहिर छन् । हतियार र कैदीहरूलाई फिर्ता गर्नको लागि पटक–पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौँ । अझै बाहिर हुनुहुन्छ । त्यसलाई विशेष अपरेसन चलाउँछौँ । यसमा नागरिकस्तरको तहबाट पनि सहयोग चाहिन्छ । न्युज एजेन्सी नेपाल