जनकपुरधाम — नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशको राजनीतिक समीकरण फेरिएको छ।
यसैबीच, सात राजनीतिक दलहरू — नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा भेला भई आपतकालीन छलफल थालेका छन्।
बैठकमा आगामी राजनीतिक कदमबारे गम्भीर बहस भइरहेको बताइन्छ। स्रोतका अनुसार, सात दलले चार वैकल्पिक रणनीति तयार गर्ने तयारी गरेका छन् —
१. प्रदेशसभाका सभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने,
२. प्रदेश प्रमुखलाई फिर्ता पठाउने पहल गर्ने,
३. कानुनी बाटोबाट चुनौती दिने, र
४. अन्तिम विकल्पका रूपमा आन्दोलन घोषणा गर्ने।
दलहरूबीच अन्तिम निष्कर्ष निकाल्ने प्रयास जारी छ। बैठकपछि संयुक्त धारणा सार्वजनिक गर्ने तयारी भइरहेको नेताहरूले जनाएका छन्।









